Site icon Sikkim Government College, Namchi

नाम्ची सरकारी महाविद्यालयमा ३१ औँ नेपाली भाषा मान्यता दिवस सम्पन्न

bhasa diwas 2022

bhasa diwas 2022

नाम्ची सरकारी महाविद्यालयमा ३१ औँ नेपाली भाषा मान्यता दिवस भव्यतापूर्वक सम्पन्न
सिक्किम सरकारी महाविद्यालयको नेपाली विभाग र युनाइटेड टिम अफ सिक्किमको सङ्युक्त तत्त्वावधानमा ३१औँ नेपाली भाषा मान्यता दिवस महाविद्यालयको प्रेक्षागृहमा भव्यतापूर्वक सम्पन्न भयो। कार्यक्रममा भीमकुमारी शर्मा, सल्लाहकार संस्कृति विभाग, सिक्किम सरकार प्रमुख अतिथिको रूपमा उपस्थित थिइन भने स्रोत वक्ताका रूपमा भाषा सङ्ग्रामी, नाट्यभूषण सी. को श्रेष्ठ उपस्थित थिए । स्रोत वक्ता श्रेष्ठले आफ्नो सम्बोधनमा भाषाको महत्त्व बुझाउँदै, भाषा कुनै पनि जातिका निम्ति पहिचान भएको, भाषासँग जातिको विभिन्न पक्षहरू जोडिएको हुन्छ भन्ने कुरा बताए। उनले नेपाली भाषा आफ्ना विशिष्ट विशेषताहरूका कारण अन्य भाषा भन्दा अलग छ। यसका गुण र विशेषता अन्य भाषासँग अतुलनीय छ भन्ने कुरा बताए। उनले नेपाली भाषाको संरक्षण र सम्वर्द्धन गर्ने दायित्व भाषा सङ्ग्रामीहरूको मात्र नभई भाषाका जानकार, प्राज्ञ र विद्वतजनको रहेको बताए। कार्यक्रममा प्रमुख अतिथि भीमकुमारी शर्माले नेपाली भाषालाई भारतीय संविधानको आठौं अनुसूचिमा मान्यता दिलाउन बलशाली भूमिका निर्वाह गर्ने भाषा सङ्ग्रामीहरूको सम्मरण गर्दै, नेपाली भाषा-साहित्यको संरक्षण गर्ने सबैको साझा दायित्व रहेको कुरा बताइन। कार्यक्रमलाई नारी शक्ति दक्षिण जिल्ला संयोजक बबिता लिम्बूले पनि सम्बोधन गरिन्। उनले भाषा दिवस जस्ता कार्यक्रम आयोजन गरिरहनु पर्ने आवश्यकता औल्याइन्। भूतपूर्व प्राचार्य डा. परशुराम पौड्यालले आफ्नो वक्तव्यमा नेपाली भाषा विश्वकै सर्वोत्कृष्ट भाषा मध्ये एउटा भाषा रहेको र भाषा उत्थानमा भाषा दिवस जस्ता कार्यक्रमले थप बल पुग्ने कुरा बताए। “भाषाको वर्तमान अवस्था र चुनौति” शीर्षकमा वार्ता प्रस्तुत गर्दै महाविद्यालयका उप-प्राध्यापक दुर्गाप्रसाद शर्माले नेपाली भाषाको उत्पत्ति, यसको शोध-अनुसन्धानमा योगदान पुऱ्याउने भाषा अध्येताहरूको चर्चा गर्दै नेपाली भाषाको अध्ययन-अध्यापनलाई तीव्रता दिनुपर्ने कुरामा जोड दिए।
कार्यक्रममा नाम्ची सरकारी महाविद्यालय, नाम्ची कन्या वरिष्ठ माध्यमिक विद्यालय र नाम्ची उच्चत्तर माध्यमिक विद्यालयका विद्यार्थीहरूले विभिन्न प्रकारका लोकनृत्य र गीतहरू प्रस्तुत गर्नका साथै कविता वाचन पनि गरेका थिए। कार्यक्रममा ध्रुव लोहागण, दावा योञ्जन,पुरण भण्डारी, विण्णु शर्मा, गणेश शर्मा, विनोद गुरूङ, डा. सी. पी. खतिवडा, जस्ता कविहरूले कविता वाचन गरेका थिए। कार्यक्रममा साहित्यकार गणेश शर्मा, दक्षिण जिल्ला पञ्चायत अध्यक्ष छिरिङ डेम भोटिया, भवन तथा आवास विभागका अध्यक्ष टासी दोर्जी तामाङ, सिस्को बैङ्कका बोर्ड अफ डाइरेक्टरका सदस्य डा शिवकुमार शर्मा, दक्षिण जिल्ला युवा संयोजक वसन्त योञ्जन, राज्य महिला आयोगकी सदस्य पवित्र दियाली, सिक्किम बाल अधिकार संरक्षण आयोगकी अध्यक्ष रोमा तामाङ लगायत विभिन्न विद्यालयका शिक्षक-शिक्षिका र भारी मात्रामा विद्यार्थीहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा स्वागत भाषण नेपाली विभाग प्रमुख तिलकबहादुर बर्देवाले गरेका थिए भने धन्यवाद ज्ञापन भौतिक विभागका उप प्राध्यापक डा सी. पी. शर्माले गरेका थिए। कार्यक्रम मौसम छेत्री र विश्वजीत बास्कोटाले सञ्चालन गरेका थिए। यस भाषा दिवस कार्यक्रमलाई विशेष सहयोग पुऱ्याइदिनुहुने सम्माननीय मुख्यमन्त्री महोदयका धर्मपत्नी श्रीमती कृष्णकुमारी राई (गोले) मेडमलाई आयोजक समितिले विशेष कृतज्ञता प्रकट गरेको छ।

Exit mobile version